
रियालिटी शो बिग बोसको १५ औँ सिजनको टिआरपी यसपटक राम्रो देखिएको छैन । टिआरपी बढाउनका लागि निर्मताहरुले अहिले शेहनाज गिललाई वाइल्ड कार्ड प्रतियोगीका रुपमा भित्र्याउने प्रयास सुरु गरेका छन् । यद्पि यसबारे अन्तिम निर्णय भने भइसकेको छैन ।

बिग बोस १३ को रनरअप रहेकी शहनाजका प्रशंसकहरु राम्रो सङ्ख्यामा रहेका छन् । त्यही भएर उनलाई भित्र्याए शोको टिआरपी बढ्ने निर्माताहरुको अपेक्षा छ । उक्त सिजन दिवंगत अभिनेता सिद्धार्थ शुक्लाले जितेका थिए । शहनाज र सिद्धार्थको भेट पनि यसै शोको दौरान भएको थियो । शोका दौरान उनीहरुको केमिस्ट्रीलाई निकै रुचाइएको थियो । शोपछि पनि उनीहरुको सम्बन्ध कायम रह्यो । तर दुवैले आफ्नो सम्बन्धको बारेमा स्पष्ट बयान भने गरेनन् ।

मिडिया रिपोर्टका अनुसार शेहनाजलाई शोका लागि अफर गरिसकिएको छ । सिद्धार्थको निधनपछि शहनाज लाइमलाइटबाट टाढा छिन् । सामाजिक सञ्जालमा पनि उनी आजभोलि त्यति सक्रिय छैनन् । उनलाई चलचित्र हौसला रखको प्रमोशनमा केही समय देखिएको थियो । यस चलचित्रलाई दर्शकहरुले निकै माया पनि देखाए । हालै उनी एक अनाथालयमा देखिएकी थिइन् ।


